जून टेक्छ उज्यालोको पाइला धर्तीमाथि
अघि लाग्छ बाटो देखाई डोहोर्याउन राति
एउटै काखमा लुटुपुटु खेल्ने दाजुभाइ
हिँड्छन् आज दुखाएर त्यही काखलाई
जून हाँस्छ लुकाएर संसारको पीडा
मान्छे हाँस्छ अरूलाई पारी चिराचिरा
हुने भए मान्छेभित्र जूनजस्तो छाती
अघि लाग्छ बाटो देखाई डोहोर्याउन राति
औँसी खस्दा परेलीमा एक्लै रुन्छ जून
फर्किँदैन मान्छे उसका दुःखहरू छुन
दुख्ने भए मानिसलाई संसारको घाउ
रगतको खोला किन बग्थ्यो ठाउँठाउँ
जूनकै प्रतिबिम्ब भए मानिसको छाती
अघि लाग्छ बाटो देखाई डोहोर्याउन राति
•