जाँगरी, हाम्रा ज्यामी भाइ, तिनको कस्तो शुद्ध कमाइ ।
पसीना काडी आस छाडी, ल्याई ठूलो फुर्ति अगाडि ॥
(१)
गर्छन् खुशीले काज र काम, लिन्छन् हाँकेमाफिक दाम ।
'भाइ! मेरो काम गरिद्यौ, ज्याला जति भन्छौ उति नै ल्यौ' ॥
(२)
भनीकन झुल्छन् घरमै आई, मानिस निम्ता गर्नालाई ।
छैन कसैको केहि खुसामद, अहहा ! तिनको चोखो आमद ॥
(३)
दिनभर गर्छन् खुरुखुरु काम, लिन्नन् बिचमा पनि विश्राम ।
खान्छन् रुखा सूखा खाजा, छन् तिनिहरु नै मोटा ताजा ॥
(४)
रोग अनिद्रा अमन अजीर्ण केही उनमा यादै छैन ।
ज्याला खाजा ल्याऊ खाऊ मोटो खस्रो कपडा लाऊ ॥
(५)
श्रमको जाँतो नित्य चलाऊ जठरानलको शक्ति बढाऊ ।
रोग व्याधिलाई भगाऊ, जिउमा भारी फुर्ति बढाऊ ॥
(६)
काम कस्तो तिनमा हेर, जान्न अनाहक क्षण पनि खेर ।
हँसिला मुखका रसिला राम्रा ज्यामी जिउका अतिशय चाम्रा ॥
(७)
गर्छन् उति नै धर्म र कर्म, लिन्नन उसका निम्ति शर्म ।
जात्रा मेला भोज भतेर, मोज र मज्जा गर्छन् धेर ॥
(८)
पाटी पौवा सत्तल धारा, गठी गाना देवल सारा ।
यस्तै तिनका कीर्तिस्तम्भ, देख्ता मनमा लाग्छ अचम्म ॥
(९)
भक्ति श्रद्धा शास्त्र द्विजमा, देवी द्यौता मन्त्र र गुरुमा ।
यिनकै ज्याला धर्म र कर्महरुको देख्छौं भित्री मर्म ॥
(१०)
आफ्ना रीति-स्थितिको खास, पुर्खे, यिनकै घरमा वास ।
बलियो यिनको आर्जन राशि सहसा कहिले हुन्छ विनाशी ॥
(११)
पुर्खौँ उनको मर्छन् भोग, लाग्दैन उनमा मड्के रोग
वालकदेखिन् बूढासम्म,ञ हुन्छन् स्थितिका रक्षक दम्म ॥
(१२)
तिनको फुर्ती तिनको चाल, तितका घरको गहिरो हाल ।
आपस भाईहरूमा मेल, चाडहरूमा हाँस र खेल ॥
(१३)
सुखमय तिनको त्यस्तो भारी, जीवनलाई खूब निहारी ।
उठ्तछ मनमा उच्च तरङ्ग भरिदै आउँछ अर्के रङ्ग ॥
(१२)
मगज सुकाई शोक र ताप, बटुली ग्राफै खोज्दछ माफ ।
वय कमाई शेखि बढ़ाई, इज्जतधारी बन्नेलाई ॥
(१२)
कति सुष होला गर्छ विचार, मिल्छन् कहिले उसको पार ।
यिनका मुटुको भित्री फजिती, जान्दछ कसले सित्तिमित्ती ॥
(१६)
दुःख र सुखको यै न रहेछ, सीमा भन्न स्पष्ट छँदैछ ।
तस्मात् सुखका ठानी खानी, ज्यामोहरुको गर्छ सरानी ॥
(१७)