जीवनको दैन्य-पीडित दशामा
थोत्रो गतिले
घुम्दै हिंड्दै थिएँ
जीर्ण-शीर्ण-वसन
मलिन वेश
(च्यातिसकी झरेको लुगामा
मलिन वेशले )
विश्व हाट—
कतिन विपणीका भीड आफ्नै मन,—
तब एकदिन, देखें—
सूर्यकिरणले टल्काउँदै गरेको
सानो द्रव्य एउटा
पङ्कमाझ, मैला नालामा ;
मनमा सोचें,
हुन सक्छ केही
अमूल्य निधि
हीरा,-मणि, माणिक्य साजमा ;
दारिद्रय पीडनको
लुब्ध मन
मुग्ध भयो
चोरलेझैँ चौदिशा हेरेर
हातले टिपें, हिलोमा पसेर
नालाका फोहरले
मलिन वेश
अझ घृणित गरेर।
कौतूहलवश मानिसका भीड
चापेर आए मलाई घेरेर,-
“ अहै दरिद्र, के धन पाएस्
सुँगुर जस्तो नालाका मैलले
जीवन लिपेर“ (दलेर)
मुठी खोली दिएँ मैले देखाई
जे थियो हातमा
इतस्ततः गरेर
हाँसे भुडी फुटुन्जेल
परिहास गरी, सबैले हेरेर;
‘अहो मूर्ख ! तेरो अहोभाग्य,
पाएछस् जीवनमा
जीवनको मोल
भित्केको काँचको एउटा टुक्रो
कसैले फाली हालेको’ (दिएको)
छातीमा चेपेर, बोकी हिंड्छु त्यसैलाई
त्यही भित्केको काँचको अंशलाई
बुझ्न यति मात्र
सकेको छु मः-
धूलाका धराका कल्मषमाझ
जीवनमाथि ज्योतिर्मयका
ज्योतिष्पात भए
सर्वाङ्ग जीवन,-
भित्केका काँचका टुक्रा जस्ता
फोहोर नालीमा,
अमोल हीरा झैँ
उठ्ने छ नैं
उज्ज्वल भई ।