सङ्कल्प गरेको थिएँ
दुखेका जीवनहरूका कथा लेख्दिनँ
अधुरा सपनाका कुरा गर्दिनँ
घाइते आँसुका फूल बटुलेर
कविताको माला उन्दिनँ ।
तर तिमीले त
फेरि, अनुरोध पो गर्यौ
अर्को पीडायुक्त जीवनलाई
शब्दचित्रमा उतारेर कविताको पगरी गुथ्न |
कहाँबाट सुरु गरौँ
उदास अनुहारलाई रङ्ग्याउन ?
स्वर्णिम सपनाहरू नबिउँझदै
मरेको देख्छु
फक्रन नपाउँदै कोपिला
ओइलिझरेको भेट्छु ।
भो बिन्ती नगर
मसँग कुनै शब्द नै छैन सँधै
बिग्रिएको कविता लेख्ने
कुनै रहर छैन
उज्यालो नपाउँदै
डुब्न लागेको घाम हेर्ने ।
०००