डुवर्स-१
सिंचुला सन्धिको ताबीज हातमा बाँधेर
लिजमा साटिएको आफ्नो परिचय खोज्दै
घरि बक्साफोर्ट,
घरि राजाभातखावा डुलिरहन्छ।
सुनकोसको बगरैबगर,
तिस्ताको फाँटभरि, तोर्साको गडतिरमा
सहोदर र आफन्तको पाइलाको डोब खोजिरहन्छ।
थर र गोत्रबिना
नामहीन नामसँग
बाँच्नुको व्यंग्य भोगिरहेछ ऊ,
र चिन्हारीको प्रमाण-पत्र खोजिरहेछ
घरि कालेबुङमा,
घरि फुन्सोलिङमा।
डुवर्स-२
छातीमा एउटा गहिरो घाउ
र मनमा एउटा सन्ताप बोकेर
चिन्हारी खोज्दै बाँच्नुको नियति भोगिरहेछ।
मानेको पातमा अडिएको शीतको थोपाजस्तो सपना साँचेर
अनिद्राका रातहरू काटिरहेछ ऊ।
के भयो कुन्नि,
हिजोआज
उसको स्वर र सूरमा आफ्नो गीत छैन,
उसको बाटोमा गति छैन,
उसको पाइलाको आफ्नै डोब छैन।
असंख्य ऐतिहासिक तक्माहरू
छातीमा झुण्ड्याएर
नलराजाको किल्लामा सशस्त्र उभिएको छ अतीतमोहमा,
कहीँ सुनकोसको प्रवाहमा
खुँडा पखालिएको स्वप्नमा आत्मलीन छ।
डुवर्स-३
चियाको बगानमा
कति खोजिसक्यो उसले सुखका सपनाहरू,
तोर्साको लहरलाई
कति सोधिसक्यो भाग्यका खबरहरू।
किन आउँदिन मुम्बईबाट फर्किएर हाम्री सोमरी?
कहाँ हराई हाम्री मंगली दिल्लीको जंगलमा?
शोकमग्न ऊ चहारिरहेछ
जलढाकाको बगरमा।
लकआउटको चट्याङले त्रस्त ऊ
खाने थालमा हच्कन्छ,
साहेबको गिद्धे आँखाले
छोरीको नाङ्गो आङको एक्सरे लिएर
रातको सपना तताउँदा
निरही ऊ ईश्वर फलाक्छ—
"हे ईश्वर! गरीबको बैँसलाई दुँवाली थुनेर
के ढदिया भर्छौ?"
तर ऊ जान्दैन,
ईश्वर त मालिकको अधिनमा छ।