Last modified on 9 मई 2017, at 11:56

डेउडा गाउँदै / राजकुमार के. सी.

कति पटक घुम्यो होला
कति ढुङ्गाहरूलाई फोड्यो होला
घुम्दाघुम्दै कति वर्ष बितिसक्यो होला
आँसुसँगै कति बग्यो होला पानी
तैपनि मन रुन छोडेन
र रुँदै–रुँदै त्यही साँझ फेरि उसले गायो

“तँ घुम्न्या मेरो मन घुम्छ
नघुम्यै कर्णाली”
बगरका बालुवाहरू चाल्दै
झीना हातहरूले ढुङ्गाहरू फोड्दै
गिट्टी ओसार्दै
अनि रुँदै नदीका भेलहरूसँग हेलिँदै
खाली पेटमा डेउडा गाउँदै
कति रात त्यसै बित्यो होला
कति पुस्ता त्यसै बित्यो होला
टाढा आकाशमा उडिरहेका कर्याङकुरुङका हूलहरूलाई हेर्दै
नदीको एउटा किनारमा उभिएर
उसले फेरि गायो
“तँ घुम्न्या मेरो मन घुम्छ
नघुम्यै कर्णाली”
 
उसका डेउडाका भाखासँगै नदी एकनास सुसाइरह्रयो
कुनै खुसीको खबर लिएर कतैबाट कोही आएन
डुब्यो, त्यस दिनको घाम पनि त्यसै नरमाइलोसँग डुब्यो
विगतका दिनहरूमा जस्तै अशुभ समाचार दिएर
मन भारी तुल्याउँदै दिन बित्यो
के थाहा, नदी अहिले कुन मायेमा बगिरहेछ ?
र कतातिर बगिरहेछ ?
पर बगरपारि दोभानमा घरी बालुवा चाल्दै
घरी गिट्टी फोड्दै
उसले फेरि उही भाखामा गायो
“तँ घुम्न्या मेरो मन घुम्छ
नघुम्यै कर्णाली”

उसलाई खोज्दै जब घुम्यो नदी फनफन्ती आफ्नै मायेमा
एक्कासि हुत्तिँदै अलि पर कुइनेटोमा पुग्यो र टक्क अडियो
र हाम फाल्दै फर्कियो
आफ्ना छालहरूले उसलाई एकछिन न्यानो स्पर्श गर्योय
अनि मन लागी–नलागी बिदाइका हातहरू हल्लाउँदै
गहभरि आँसु लिएर
फर्किंदै हेर्दै
एउटा अनन्त यात्रामा नदी उसबाट टाढा भयो
ऊ केवल किनारामा उभिएर हेरिरह्रयो टाढा–टाढासम्म
अनि फेरि उही भाखा गायो, गाइरह्रयो
“तँ घुम्न्या मेरो मन घुम्छ
नघुम्यै कर्णाली”