विचारका गिर्खाहरूले
सङक्रमण थाल्नुअघि
म घोप्टिएको छु एउटा खास विचारको खोजीमा
थकित छु
उल्टिएको छ मेरो सिर्जनाको आदिम कला
यो संसारको सबैभन्दा कुरुप जीवाष्म
मेरो सामथ्र्य माथि धावा बोलिरहेछ
र, म निलिरहेको छु मेरो आफ्नै तातो स्पर्श
सायद मेरा नशाहरूमा
जीवन कम र मृत्यु बढी दौडिरहेछु
यो शताब्दीकै
सबैभन्दा कमसल सोचमा छु म
अनपेक्षित तर्कहरूले थिचिएको,
विचार नगरिएका विचारहरूले खाँदिएको
कैयन गहुँगा ढुङगाहरूमाथि
यस्सरी दाबिएको छ मेरो मस्तिष्क,
मानौं म ढुङगे युगको एउटा जरा,
पानीको सतह भन्दा माथि छु
हावाको सतह भन्दा तल छु
न जमीनमा छु, न आकाशमा छु
न दिलमा छु न दिमागमा छु
मेरो सिर्जनहीनताको साक्षी म स्वयंमा
यसरी जकडिएको छ यो समय
सारा चेतनाहरूको विष्फोटनअघि नै
उछिटिएको छु म, मात्र एउटा केन्दीय शुन्य,
अविभाज्य मेरो शक्ति भने
मभन्दा विपरीत उँभो उठिरहेछ
०००