अनुराधा ! रात धेरै अझ बाँकी नै छ
तर तिमी आइहाल्यौ दुई आँखाभरि,
अघि-अघि पनि त तिमी आउँथ्यौ यसरी नै
र एकपल्ट फूल भएको थियौ मैले छोइदिँदा,
म छोइदिन्थेँ सधैँ-सधैँ - तिमी धेरै के-के हुँदै जान्थ्यौ
कहिले हातभरि, कहिले ओठभरि, कहिले छातीभरि ।
आज पनि तिमीलाई छोएँ अनु !
र तिमी परी भयौ
मैलो दुई हात बढाएँ - तिमीले पखेटाले वेग हान्यौ
र उड्दै गयौ पर, झन् पर, झन् पर
खोला पारि, डाँडा पारि, क्षितिज पारि
र त्यसरी नं अनु ! अहिले हाम्रो व्यवधानमा
कैयौँ समुद्र उर्लिन्छन् - अनन्त छालसित सुसाएर
एउटा सिङ्गै आकाश पल्टेको छ - क्षण-क्षणमा रङ्गै बदलेर,
यसरी नै जिन्दगीका धेरै रातसितै आज तिमीलाई पनि
गुमाएँ अनु !
र अब, झकाउनसम्म देऊ मलाई यो बाँकी रहेको रात !
सायद डस्नेछन् फेरि-फेरि आउने रातले मलाई -
मुटुभरि ।