सल्काउन त तिमीले
सजिलै सल्कायौ
अव त्यो आगो भयानक डँढेलो बनेर
बन पाखा ढाक्दै
तिमीसम्म आइपुग्यो
निभाउन कति गाह्रो भो ?
यतिबेला आफैँले सल्काएको आगोले
जव तिमीलाई चिनेन
तिमीलाई अहिले बाँच्न कति गाह्रो भो ?
उमार्न त तिमीले
सजिलै उमार्यौ
जव त्यो पानी अहिले जवान भएर
भयङ्कर खहरेमा परिणत भयो
आफैँले उमारेको सानो पानी
सर्बत्र अतिक्रमण गर्दै
अहिले भयङ्कर खहरे भएर
जव तिमीसम्म आइपुग्यो
खहरे बाँध्न कति गाह्रो भो ?
यसबेला आफैँले उमारेको पानीले
जव तिमीलाई चिनेन
तिमीलाई अहिले ज्यान जोगाउन कति अप्ठ्यारो भो ?
सोझासाझा मानिसका मनमा
निरक्षर ती पवित्र आत्माहरूमा
भर्न ततिमीले खुब हावा भर्यौ
आफ्नो स्वार्थको आक्रोशमा
क्रान्तिको खुब तरङ्ग छर्यौ
जव त्यो आफैँले फुकेको हावा
यसवेला आँधी भएर
दुनियाँका घर तहरा उडाउँदै
तिमीसम्म सुसाउन आइपुग्यो
अहिले तिमीलाई सास फेर्न कति अतास भो ?
आफ्नै हावाले जव तिमीलाई चिनेन
तिमीलाई अहिले बाँच्न कति हतास भो ?