Last modified on 2 जुलाई 2021, at 08:28

तिमी छैनौ र मात्र... / गीता त्रिपाठी

यो शरद्को आभास
उस्तै छ आमा !
तिमी छैनौ र मात्र
केही छैन यो बतासमा !
 
पहिलोपटक
यति बिरानो छु आफैसित
आफ्नै आँखाबाट हराएका
सपनाहरू खोज्न तल्लीन म
बारबार धुवाँको बस्ती
वाग्मतीको किनारतिर दौडिरहन्छु
 
तिमीविना पनि चलिरहेछ हावा
बगिरहेछ पानी
सपना टिप्न कुदिरहेछ आकाश !
 
तिमीविना पनि
उस्तै छ उफ्रिरहेको यो ढुकढुकी
कसैले नदेख्ने मभित्रको महाशून्यमा
तर
कतै छैन तिमी हुँदाको जीवन !
 
तिमीविनाको
यो पहिलो शरद्
ढोकाबाहिरै उभिएको छ
ऊ माग्न सक्दैन प्रवेशाज्ञा
सक्दैन हेर्न शिर उठाएर
मेरो उजाड अनुहारमा
र, म बन्द छु
ढोकाविनाको तिम्रो अविराम स्मृतिमा !
 
शरद् !
तिमी परै बस्नु
तिमीलाई दिने कुनै रङ छैन यसपालि मसँग !!