कस्तो कालो घडी घडीले केस्रा केस्रा पारेको
यो रात रात होइन प्रिया, तिम्रो केश फुकेको
कालीको भित्री तरङ्गजस्तै मुलायम गम्म परेको ।
समस्त संसारसित तिम्रो कपालमा म डुबेको छु
ताराहरू तिम्रो रौं टल्केको, चन्द्रमा भाल टल्केको
तारापथ तिम्रो सिउँदो
व्योमकेशमा विलय भएको ।
पहिले यो तम खाली नींद थियो
तिमीले त्यसमा स्वप्नहरूको ज्योति भन्यौ
भविष्यको ऐना हेरी
बितेका दिनका दांती भएको काङ्गियोले
लामो रात कपाल कोरी पश्चिमतिर पल्टायो ।
पूर्वमा लाली चढेका बादलका आकारहरू
तिम्रा हृदय का मौन मुस्क्यान खेल्दै नाचिरहेका हुन् ।
तिमी मरेकी छैनौ।
अनि सूर्य तिमीले हाँसेको दन्तपुञ्ज झुल्केको हो
हिमालय तिम्र श्वेत अङ्ग हो-घुमाउरो भै पल्टिरहेको-
आधा अङ्ग हरियो फरिया लतारी ढाकेको
हिमाल-कस्तूरीको हावा तिनै सुगन्धित सास हो
ढुङ्गामा बज्दै झरनाले
तिम्रो चुम्बनको प्रतिध्वनि अमृत बनाइरहेको हो ।
प्रिया, तिम्रो मीठो गीतमा ।
भेल आई बाँध फुटी जथाभावी छाल उछिट्टी
चराहरूका गला गलामा स्वर सुर अनेक बगेका हुन्
तिमीले मलाई लेखेका चिठी
यातिएर धुजा भएका यी अनगिन्ति फूलहरू हुन्
तिनमाथि परेका शीतविन्दु सब सेलाएका तिम्रा आँसु
उज्यालो यो संसार तिम्रो खुली रहेको आँखा ।
तिमी मरेकी छैनौ।
प्रिया, मेरो तातो आँसु तीन थोपामात्नै प्रोह लें !-
तर तिम्रो आँसु महासिन्धु भै उलिरहेका देखिन्छन् ।
तिम्रो अँध्यारो मुख नै साँझ हो,
फेरि कपालले मुख ढाक्छ ।
फेरि अहो ! लामो रात पल्टँदै बिहान हुन्छ-
सिन्दूर लगाउँछयौ-
तिमी जीवित छैनौ भने तिमी स्वयं जीवनी हौ ।
तिमी बोल्छौ
नबुझे पनि मेरो आँखा त्यो टडकारै सुन्छ ।
तिमी मरेकी होइनौ ।
रूखलाई लताले बेह्रेझैँ
जम्मै धूँवा मै रुमल्लिएझैँ
फैलिदै विकसित हुँदै हुँदै ब्रह्माण्डभरी भरिएकी हौ
चन्द्र पग्ली जून भएझै-समुद्र रुपौला पारी
सूर्य पग्ली घाम भएझै-विश्व सुनौला पारी
तिमी अनन्त भएको हो ।
बिर्सनेहरू 'मरिन' भनून्
तिमी मलाई मेरो मुटु नै छौ-
छामिएको, सुनिएको, गुनिएको
चली रहेको, तातो जीउँदो ।
तिमी मरेकी छैनौ।
इन्द्रेनी, १७, २०१३