Last modified on 23 जुलाई 2017, at 11:31

तिमी यसै लजायौ / दिनेश अधिकारी


तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ

बैँसालु पाखाभरि कोही चरेझैँ
नजरको नशालु कुलेसो तरेझैँ
हुरी चल्छ मनमा— तिमी भित्र छ्यौ कि ?
मेरो दिल हरायो— तिमीले लियौ कि ?

यो कस्तो हो माया मुटु बाँडिएझैँ
म हाँस्दा अधरमा तिमी बाटिएझैँ
झरी पर्छ तनमा तिमीले छोयौ कि ?
म बग्दो नदीको तिमी बाँध हौ कि ?