Last modified on 14 अगस्त 2024, at 23:25

तिमी सोद्छौ भने / सानु शर्मा

नदीका दुई किनारझैँ
तिमी र म ।

थहा छैन
हामी कसरी
एक आपसमा मिसियौँ ।

म भन्न सक्दिनँ
यो मिसिनुलाई तिमीले
कसरी लिएका छौ ।

तिमी सोद्छौ भने
बरु
म भन्न सक्छु -

तिमीले
एक्लोपनमा खुम्चिएर बसेका
मेरा दिन र रातहरूलाई
जीवनको गहना दिएका छौ,
आँशुमा भिजेर दुखिरहेको
मेरो जिन्दगीलाई
मुस्कुराउने बहाना दिएका छौ ।
००००