Last modified on 16 फ़रवरी 2022, at 16:32

तिमी हुनुको (अंश - २५) / इन्दिरा प्रसाई

मुखमा हाल्नै लागेको बेला
पोटिलो केराको बोक्रा उघार्दा
त्यसबाट गुदीका ठाउँमा
हावामात्र
मात्र हावा निस्कियो ।

रसाएको जिब्रो
बिस्तारै निस्ताएर सुक्यो ।

एउटा युगको प्रतीक्षापछि
आएको तिम्रो झुल्को पनि
धमिलो … झन् धमिलो देख्दै छु
मध्यान्न कुरेर बस्दाबस्दै
कुन बेला घाम ढलेछ
थाहै पाइनँ ।

अब बैँसको गीत
बुझ्न सक्तिनँ
तिम्रो बाहुपाशभित्र पनि
रमाउन सक्तिनँ ।