यसपालिको फागुनमा
लेखिपठाए सुदूरका ताराहरूले
तिम्रो नाममा,
तुषारोको मृत्यु-सन्देश ।
तिम्रो सहरमा यतिखेर
हुस्सु हाँसेको
मन परेन रे उनीहरूलाई
ए ! हिउँदप्रिय मनहरू,
छामेर हेर यतिबेला
कतै तिम्रो मन,
हिउँ नै त भएको छैन ?
न्यानो हुने बहानामा
भिरेर जडाउरी समयहरू
लम्पसार परिरह्यौ रे तिमी ।
किन यति बोझिलो बनेको ?
सोधिपठाएका छन् उनीहरूले,
तिम्रो नाममा एउटा प्रश्न ।
किन खुल्दैनन् तिम्रा ढोकाहरू ?
केले बाँधिएका छन् हातहरू ?
मनहरू यस्तरी बाफिँदा पनि,
के तिम्रो मस्तिष्कमा
अझै कुनै मेघ गर्जिएकै छैन ?