मेरो यादको साम्राज्यमा
एक्लो तानशाह
ऊ मेरा सुनौला सपनाहरुमाथि राज गर्छ
तड्पाएर मुटुलाई
छेवैमा त्यसको आहत सुन्छ
तर व्यक्त गर्न जान्दैन
कुनै प्रेमी आभासहरु,
बुझेपनि नबुझेको उसको अभिनय
प्रेमको श्रीपेचमा मुस्काइरहन्छ,
देखेर भुइ झरेको उसको लज्जा
आखाको ज्योतिमा छल्किरहन्छ
म त्यसैको वरिपरि मस्तले बेहोशिन्छु।
नबोलोस् समपर्णका जादुमयी वाक्यहरु
नखोलोस् बन्द सन्दुक झैं मटुका पत्रहरु
सिर्फ प्याराप्यारा
उसका कठोर परहेजलाई
म स्नेहको सौहार्द उपहार प्रदान गर्छु।
निरङ्कुश ! यो अत्याचार पनि प्यारो छ
उम्लिएर उपेक्षा मन जलेको कुरा
कहिल्यै सुनाउदिन,
यो उत्सर्गको अन्याय अनौठो छ ,
बेमतलवी !
मैले प्रेमको लोभसग
मज्जा जो निर्माण गरेकी छु,
तिम्रो आराधना जो गरेकी छु
जीवन गुजारा जो गरेकी छु
माया जो बेहद गरेकी छु,
प्रेम गर्न पनि नजान्ने
के तिमी
पराजित होइनौ र ?