Last modified on 4 सितम्बर 2020, at 20:08

तिम्रो संसार / जनार्दन सम

ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार ।
यो पृथ्वी बनायौ झारपात र वृक्ष प्राणीहरू उमार्यौ
रंगीचंगी चरा उडायो, भूकम्प बाढी ज्वालामुखी फुटायौ
आफ्नै घरबार परिवारलाई भत्कायौ मायौ बिगार्यौ
यो बालक्रीडाजस्तो, उन्मत्तको कामजस्तो
हेरें तिम्रो संसार ।

सुख सम्पत्ति सौन्दर्यले पल्काउँछौ, दु:ख उमाल्न;
त्यो सँधै दिदैनौ, मान्छेको रगत मान्छेले चुस्छन्,
खेल्छन् रगतको होरी अाफसमा, तिमी हेर्दैनौ,,
यो शिरमा दुःख, आँसु आँखामा
सुस्केरा ओंठमा, मुटुमा ढुक्ढुक्
कर्मीको बच्चाले जस्तो कस्तो कच्चा पुतली बनायौ,
भोगें तिम्रो संसार।

कि,, संसारको कर्मी म होइन भन, तिम्रो बदनाम नहोला,
कि, संसारलाई नित्य स्वर्ग बनाऊ, तिम्रो सुनाम होला,
यदि उद्योग नगरी तिनै भर परी मानव-समाज वनवासी होला

प्रकृति-विरुद्ध लड्ने शेस्त्र नरची वैज्ञानिक चुप रहला, त
जगत्को झन् कस्तो विचित्र चित्र होला ?
बनाउँछौ जे, त्यो बिगार्न
जन्माउँछौ जो, त्यो मार्न
यो तिम्रो छल हो या भूल अथवा खेल
कि त उन्माद नै हो यो,
नजान्ने बनाएझै अनित्य क्षणिक
यो सव जाने बुझे तिम्रो संसार ।

................................................
मेरो अपराध-बाट, २०१२