Last modified on 14 मई 2017, at 18:27

त्यो बस्ती / लीला अनमोल

त्यो बस्ती
हिजो-आज
दिउँसै मातेको देख्छु कतै रुँदै गरेको
कतै हाँस्दै गरेको
रङ्गमञ्चीय नाटक जस्तै देख्छु
सुर्यको किरणले छक्याएको रातजस्तै
निष्पट अँध्यारो, कालो देख्छु
रात्रिको एक झल्को समनाजस्तै
छेलिएको यथार्थको भ्रम देख्छु
खै कस्तो कस्तो देख्छु
बिहानीको घामलाई
तषारोले छेकेझैं
बाङ्गो टिङ्गो अवरुद्द बस्ती देख्छु
हजारौं लाशहरु थुपार्ने
गन्हाएको मुर्दाघर जस्तो देख्छु
कहिले उर्लिएको
मध्य वर्षाको भेलजस्तो देख्छु
यो मान्छेहरुको संसारमा
बस्ती बन्नुको अपरिहार्यतामा
मन्छेले अल्पिएको एकटुक्रा जमीन देख्छु
बलिरहेको न्यानोबाट भागेर
निभेका खरानीहरुमा
आफ्नो भविष्य खोज्ने
पागल मानवहरु देख्छु
मानवीय आत्माको शिरवाट
सललल षड्यन्त्र बगेको देख्छु
खै के के देख्छु
पुनः कोत र भण्डारखालको संकेत देख्छु
जे देख्छ, यस्तै देख्छु
आजको यो अभिसप्त सिङ्गो बर्तमान देख्छु