Last modified on 16 मार्च 2017, at 14:28

त्यो ‘तिमी’ / मनप्रसाद सुब्बा


कुन्नि को त्यो ‘तिमी’
कविको अज्ञात ‘तिमी’
जसको अगम्य आँखाको दहबाट
बगिरहने संवेग र संवेदनाको नदीले,
बगर सुकिरहेको छाती पनि
रोपाइँ गर्नलाई तयार पारिएको
खेत भिजिरहन्छ छपछप...

रहस्यको कन्दरामा प्रतिध्वनित्
तिमी... तिमी... मी...
सङ्गीतज्ञको छातीभित्र एक कुनामा
हृदयको साजमा स्पन्दनका औंलाहरूले सुमसुम्याइरहेको धुन
अनि बहिरा बिथोभनको अन्तरतहमा
धुकधुकीको ज्वारभाटा – सिम्फोनी !

कि एक प्रखर जलन
जिन्दगीको हिउँदमा
छातीको कोठालाई गरम पार्न राखिएको
झरिलो अँगारहरूको एक प्रज्ज्वल पुन्ज़

कविको त्यो ‘तिमी’
इजिप्टको हत्केलामा आयुरेखा लामो नील नदी
गौंथलीको पखेटामा एक्सटेसी / अनि
सपनामा रचिएर विपनामा लेखिएको
कलरिजको त्यो अधुरो कविताको
        कौतुहलतापूर्ण थकथकी
‘तिमी’ !!