मेरो पर्णकुटीरको
प्राचीर थिएन
थियो मात्र, झिक्राका चार
त्यसै कारण
त्यसैका छेउ-छेउबाट
शीतकम्पन पसेर
शैत्यरात
मलाई राखेको थियो थुरथुर पारेर ।
तर,
कुन्नि कसको महिमाले
कुन दयावान्को दयाले
रौद्र अङ्गुल, मेरो सन्धान-इच्छाले
खोज्दै घुम्दै छ
धेरै ढिलोको आज
वसन्त प्रभातमा
सहज रुपले ।
त्यही स्पर्श अनुभव गरेर
त्यसैका तापले
उत्तप्त भएर
घुमी हिंड्छु म
वनचरी झैं
विहङ्ग-विचरण-मुखरित
वनवीथिकामाझ,
पङ्ख फुकाली निर्मल बतासमा
ढिलै भए पनि पाएको आनन्दले,-
तिनलाई खोज्न,-
जसको करुणाले
पाएको छु मैले, यो वाचालता
अन्तःशीला उत्सबट
बहँदै जाँदै छ जुन
त्यही कविताका उच्छृङ्खल लयले
बाँधेर राख्न उनलाई
मेरो अति अभ्यन्तर ।