आँखाहरू रथको घोडाजस्तो छेकिएर
काँधमा गह्रौँ भारीहरू लादिएर
हन्टरका हिर्काइहरू खाँदै
पैतालाहरू द्रुततर अझ द्रुततर बनाउँदै
निर्देशित गन्तव्यका यात्रीहरू, दासहरू ।
ओठहरू मौन छन्
मानौँ बन्द कारागारका ढोकाहरू
युगौँदेखि सदियौँदेखि शताब्दिऔँदेखि
गोरूका जस्ता गाँठो परेर पाकेका काँधहरू
कहिले उज्यालाले नछोएको चेतना
दासहरू पशुतुल्य आज्ञाकारी छन्
दासहरू यन्त्रतुल्य निर्जीव छन्
किनिए दासहरू, बेचबिखन गरिए दासहरू
अँगालाका आफन्तहरूसँग कहालिँदै
विभाजित गरिए दासहरू
खुल्न सकेनन् बन्द ओठहरू
मालिकहरूका विरूद्ध, प्रभुहरूका विरूद्ध
गजधम्म छन् प्रभुहरू, निरङ्कुशताका प्रतीकहरू
तर परिवेश चलमलाउँदै छ बिस्तारैबिस्तारै
सायद तत्पर छ समय
परिवर्तन ल्याउन इतिहासमा
बिस्तारैबिस्तारै ब्यूँझदै छन् दासहरू
जमजमाएका छन् तिनका शब्दहरू, वाक्यहरू
प्वाँख लगाएर अकासिँदै छ तिनको कल्पना
बलियो अझ बलियो हुँदै छ तिनको दृढता
थरीथरीका मालिकहरू
लामघारे मालिकहरू
तालुचिन्डे, भुँडे र पुड्के मालिकहरू
चकित छन् थकित छन्
कसरी प्रज्वलित भएर उठे
निभेका दियोजस्ता दासहरू
कसरी चलमलाए
जीवन्त बनेर सुनामीजस्ता भए
कसरी आत्मसम्मानपूर्वक शिर उठाए
युगौँसम्म पददलित रहेका
युगौँसम्म निःशब्द रहेका
मुर्दातुल्य निर्जीव दासहरूले ।