हावाको एउटै झोँकाले पनि लडाउन सक्ने
सधैं लाहाँचेका चुच्चोबाट ठुगिरहनु पर्ने
म एउटा सुकेको रुख मात्र हुँ भने पनि
नबनाउनू मलाई चिताको काठ ।
साहुकारको सम्पति लुकाउने बाकस
नबनाउनू मलाई ।
बरु मलाई कुनै अनकन्टार गाउँबिच
उर्लिएर बगिरहने खहरेमाथि
एउटा पुल बनाइदिनू ।
जसबाट तरेर केटाकेटीहरू निर्धक्क
पाठशाला जान सकून् ।
कहिले कुनै झारसम्म नपलाउने
एउटा उजाड , उदास र बाँझो भुइँ हुँ भने पनि
नबनाउनू मलाई हँडिखेल र अखडाको मैदान ।
बरु त्यहाँ
फलैंचा र चौताराको बिसाउनी बनाइदिनू !
जहाँ आएर बिसाऊन्
जिन्दगीको उकालीमा थाकेका यात्रीहरू
र साटासाट गरून् एकार्काका दु:खका सौगातहरू !