Last modified on 28 मई 2017, at 17:23

दुई थोपा / दुर्गालाल श्रेष्ठ

थोपा…
तिमी पनि थोपा
म पनि थोपा
जर्जर माटोमा
कमलको पातबाट तप्किएका हामी
पानीका दुई थोपा

तिम्रो इच्छा
मेरो पनि इच्छा
समुद्र हैन कि
दुई थोपाको
मात्र एक धर्सो बन्ने इच्छा

म आउँछु
तिमी पनि आइदेऊ यता
आउँदाआउँदै धर्सो बन्न नसके
नबनुँला के भो र ।

सुकेर जाला; गए जाओस्
तलको सट्टा माथि
धर्सोको ढिको होला
फरक अर्को के नै होला र ।