Last modified on 24 जुलाई 2016, at 21:59

दुर्गम उचाइ / मोमिला

आफूलाई कतै छाडेर
अधुरो म
कविता पूरा गर्न सक्दिनँ ।जीवन रहेसम्म नै
अनुभूतिको विस्तारमा म
अन्तिम सिमाना कोर्न सक्दिनँ ।

यतिखेर
बुझिएको जीवनको अन्तिम पृष्ठमा
पीडाको विशेषाङ्क पढिरहेछु
देवालयहरूमा
विलापको घण्ट बजिरहेछ
र पनि म
बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ ।
मानार्थ खुसीमा म
बुझनुका दुर्गम उचाइ उक्लिरहेछु
र लाग्दै छ
मैले नदेखेको ईश्वरबाट अलग्गिएर
मेरो माटोको घाइते छाया
मलाई पछयाइरहेछ
र पनि मेरो माया नै अन्तिम भनेर
माटोलाई
मसँगै सती आउन
अनुरोध गर्न सक्दिनँ ।