बाह्रै मास झुल्छ जहाँ सिर्जनाको डाली
यो देशका बाली हामी यै देशका माली ।
अग्ला चुली ह्यूँचुली छन् सयौँ शिर हाम्रा
पहाड र तराईका सयौँ फाँट राम्रा
थरी थरी फूल हामी एउटै छ नाउँ
नेपालको धर्ती हाम्रो हामी बस्ने ठाउँ ।
सबैलाई सम्झना छ सबैको छ चासो
देश हाम्रो सबैको हो भविष्यको नासो
एकै घरका जहानको सँगै हुन्छ थाली
सबै मिली काम गर्छौँ सबैको छ पाली ।
तानातानी गर्नु किन मेल गर्नु राम्रो
आखिरी यो देश भन्नु सबैको हो हाम्रो
मिलीजुली काम गरौं के हुँदैन यहाँ ?
बिरोधले बिगारेर बास बस्ने कहाँ ?