Last modified on 1 जून 2017, at 19:41

देश / निमेष निखिल


यतै उभ्याउनुपर्छ आत्मीयताको हिमाल
रोप्नुपर्छ सद्भावका पीपल र गुराँसहरू
छेक्नुपर्छ मसिना खुसी टेक्दै हिँड्ने लबस्तरो समयलाई आजै
र मनकै आधारशिलामा गाड्नुपर्छ―
एउटा साझा झन्डा मैत्रीको।
 
आँसुले बगाउन नसक्ने दुःख छन् त के ?
सुस्केराहरूमा नअटाउने पीडा छन् त के ?
मरुभूमि हैन हृदय / हुनै सक्दैन
त्यहीँ फुलाउँछौँ हज्जारौँ फूल विश्वासका
त्यहीँ झुलाउँछौँ असङ्ख्य बाला समृद्धिका
अझै वेगवान् छन् उत्साही पाइलाहरू
नाप्छौँ मेची―काली―तराई―हिमाल
र उन्छौँ निरन्तर मालाहरू एकताका।
 
ब्युँझँदै छन् भोक ओडेर निदाएका बस्तीहरू
बौरिँदै छन् वेदनाले मूर्च्छित सहरहरू
कलिलो घाम दौडँदै छ अन्धकार मझेरीतिर
उदास अनुहारमा फक्रँदै छन्–
चहकिलो आशाका सयपत्री कोपिला
र कलेटी ओठहरूमा पिङ खेल्दै छ
अनादिदेखि हराएको प्राचीन मुस्कान।
यतै कतै उभिएर स्वागत गर्नुपर्छ
हत्केलामा जून तारा बोकेर सुनसान आँगन टेक्न हिँडेका
रङ्गीन पाइलाहरूको म्याराथनलाई
यतै डाक्नुपर्छ एउटा भेला― सुकिला सपनाहरूको
र यतै खोज्नुपर्छ―
समयक्रममा हराएको आशाको पिलपिले जुनकिरी।
 
त्यसो त यो हामी टुसाएको माटो पनि हो।