१- आफ्नो अनुहारमा देशको मानचित्र टाँसेर म देशको परिचय हिँडिरहे हिँ- डि-र-
हेँ .... तर मेरो परिचय भने देशको मानचित्रमा किन टाँसिएन हँ ?
२- मेरो शरीरको छालामा मासुमा हड्डीमा मासीमा देशै-देश छ । तर देशमा म कहाँ छु, कसैले देख्दैन । मेरो मनमा मथिङ्गलमा चेतनामा अवचेतनामा देशै देश छ, तर देशमा म जहाँनेर छु मैमात्र देख्छु । किन अरू कसैले देख्दैन हँ ? अदृश्य पनि त होइन म । दृश्यमान हूँ अत्यन्त ।
३- म कहिलेदेखि तिमीलाई भनिरहेछु कि म हिमाल हूँ, पहाड हूँ, तराई हूँ। भनिरहेछु कि म झरना हूँ, खोला हूँ, नदी हूँ । तिमीले देखिरहेका ती जम्मै म नै त हूँ । जीवन्त ती सब देख्ने, मलाई चैँ नदेख्ने तिम्रा आँखाका रेटिनाहरू भाइरसग्रस्त छन् या त तिम्रो आँखाको प्रोग्रामिङ नै त्यस्तै हो भने त्यो सात पुस्ताअघिको आउटडेटेड सफ्टवेयर हो ।
४- हैन, मेरा देशबन्धुहरू किन पूर्वाग्रहको वेबसाइटबाट मात्तै पसाङ्गिएका सूचनाहरू डाउनलोड गरिरहन्छन् हँ ?
५- अब भने तिमीले मलाई यसरी नदेखिरहन पाउने छैनौ । देशको अनुहारको एक कुनामा म नीलो पहाड एक सानो नीलो कोठी उम्रिन्छु । त्यसपछि देख्नेछौ देशको अनुहारलाई बान्की पार्ने गरी उम्रिएको त्यो बान्किलो कोठीमा मेरो छुट्टै अनुहार छर्लङ्ग ।
६- देशको काँधबाट गोरे हलीको हलो-जुवा हटेको थाह छ, तर मेरो घुच्चुकमा
बाँधिएको हलो-जुवा आजसम्म हटेको छैन । म उही हूँ, मात्र हलो र हली
फेरिएका छन् । जुवामा घोटिएर मेरो घुच्चुक यतिसम्म पिल्सिसक्यो कि
युगौँदेखि यौटा रौँ पनि उम्रन नसकेर त्यो नाङ्गो बञ्जर माउन्टेन-डेजर्ट भएको
छ ।
७- यसबाट आफूलाई मुक्त नगरी सन्दकपूको मेरो शिर कसरी ठाडो हुने ?
८ - देशको छातीबाट स्नेहधारा बगेको मूल प्रवाहमा पौडिनबाट वञ्चित म हमेशा
अछूत झैं किनारमा हुत्याइएको छु । प्रदर्शनीको मैदानभित्र पस्न नदिइएर
धकेलिँदै सधैँ सीमान्तको डिलबाट तारेभीरमा खसाउन खोजिएको छ मलाई ।
कितापको पृष्ठमा म त्यो छेउ-किनार हूँ जो क्यै नलेखी सादा छोडिएको हुन्छ ।
९- देशको कितापमा मेरा शब्दहरूलाई यौटा पृष्ठ मात्र होइन, सिङ्गो अध्याय नै
चाहिएको छ । ती शब्दहरू कुनै रोमान्टिक कविको फ्यान्टेसी होइनन्, तर यहीँकै
माटोमा उम्रिएका मकै र दालका गेडाहरू हुन् । धान र गहुँ हुन् । त्यो छुटेको अध्याय गाभिनैपर्छ । परिशिष्ट होइन, तर मूल पाठ नै भएर । त्यसपछि नै, ओ बन्धु ! मेरो स्वर तिमी ठीकसित चिन्नेछौ ।
१० - मैले सधैँ अग्लो उचालिराखेको अनि मेरो संवेदनाभरि तरङ्गित देशभक्तिको
झण्डा तर मेरो शिरमाथिको आकाशमा कहिले पनि ओजोन तह भइदिएन ।
त्यसैले, हेलचेक्रयाइँ र अपमानको अल्ट्राभायलेट - रेले डढाएको डढाएकै छ
मेरो मर्म, मस्तिष्क र मेरूदण्डलाई ।
११- त्यसै र, अचेल दाहिने काँधमा अशोक-चक्र बोकेर, देब्रे हातले आफ्नै अनुहारको झण्डा फर्फराउँदै म त्यै बाटो खाली खुट्टा हिँडिरहेछु जुन बाटो भएर एक समय अधिकारको दण्डी यात्रा गएको थियो ।
( १०-११ जून २००८ )