Last modified on 4 जून 2017, at 15:34

देश खोज्दा / निमेष निखिल


एकाएक झ्याङ्गियो विषवृक्ष
यद्यपि मरुभूमि थिएन त्यहाँ काला सम्भावनाहरूको
आगो तिमीले मेरो विरुद्धमा लगाएका थियौ
विडम्बना ! तिमी पनि जल्यौ मसँगै
आफैँले लगाएको आगोमा।
 
गर्नु नहुने गर्नका लागि
ठाउँकुठाउँ हुँदोरहेनछ
भन्नु नहुने भन्नका लागि
मौकाबेमौका हुँदोरहेनछ
गर्नु नहुने गर्यौह तिमीले
भन्नु नहुने पनि भन्यौ तिमीले
तिमी ओत लागेको विषवृक्ष
त्यो त हेर ! मरुभूमिमा उम्रिएको छ
चाँडै सुक्ने सम्भावनाहरूको वकालत गर्दै।
 
तिमी आफ्नो लडाइँलाई
हकको लडाइँ भन्छौ
र कुल्चन्छौ मेरो हकको आधारशिला
मेरै अस्तित्वको विरुद्ध लड्न
मैसँग सहयोग माग्दै छौ तिमी
मित्रता र आत्मीयताको कुरा गरेर
समय तिमी र मबिच
यति धेरै दुर्बोध्य भएर उभिएको छ आज।
 
आफ्नै अहंको रक्षार्थ
कुसमयका खलनायकहरू खन्दै छन्
विभेदका अनन्त खाडलहरू हामीबिच
खै हामीले तिनलाई चिन्न सकेको ?
छहारीको भ्रम बाँढेर
रोप्दै छन् तिनीहरू हिंसाको आगो
खै हामीले तिनलाई बुझ्न सकेको ?
आमाकै अस्मिताको त्रास देखाएर
आमाकै छाती अंशबण्डा गर्न खोज्दै छन् ती
खै हामीले थाहा पाएको ?
 
ढिलो भो अब आऊ
तिमीले सल्काएको यो आगो
अझ भनौँ तिमीद्वारा सल्काइएको यो आगो
हामी दुवै मिलेर निभाऔँ
र निकालौँ एउटा सिङ्गो देश
भर्भराउँदो भुङ्ग्रोभित्रबाट।