Last modified on 7 सितम्बर 2024, at 21:28

देहव्यापार / कुन्दन शर्मा

हो, देहव्यापार हुन्छ यहाँ
कहिले भएन ?
बजारमा बोली लगाऊ
वा घरमा सम्बन्धको जामा पहिराऊ
वा मञ्चमा सुन्दरताको नाम दिएर
मेरा अङ्गअङ्गको प्रदर्शन गर्दै मलाई नङ्ग्याऊ
तिमीलाई त फगत मेरो शरीर चाहिएको छ
बस, यसैलाई सम्ठचाऊ ।

सम्भोगका लागि किन वा बेच
मायाको नाममा आफ्नो बनाई भोग
वा मेरो गर्भमा आफ्नो वंशलाई खोज
कि, मबाट अरू केही कमाइ गर्ने सोच
नाम केही देऊ
कुनै झूटो सम्मान देऊ
तिमी त खालि उपासक मेरो शरीरको
कुनै निहुँले बस यसलाई नै लेऊ ।

यो मन मेरो
कसले बुझेको छ ?
कसले खोजेको छ ?
कसलाई चाहिएको छ ?
म सृष्टिको एउटा उत्कृष्ट रचना
केवल वासनाको आकाङ्क्षा भई बाँचें सदा ।

यहाँ सम्बन्धको पर्खाल मानिदैन
उमेरको फरक रहँदैन
काखमा बसेका नानीको समेत
शरीर सुमसुम्याउन
तिम्रो हात चुक्दैन ।

हो, देहव्यापार हुन्छ यहाँ
कहिले पो भएन ?
सडकसडकमा, घरघरमा
मञ्च, अखबार, सिनेमा, टेलिभिजनमा
आँखा उठाएर हेर
मेरो शरीर नै देख्नेछौ
जताततै जहाँतहाँ ।

बस, फरक यति नै छ आज
पहिले तिमी जबरजस्ती गर्थ्यो
अब म स्वयं स्वेच्छाले
आफै नाङ्गिन्छु, बेचिन्छु ।
र आफ्नो किमत असुल गर्छ ।

सके यही एक मात्र
आकर्षण छ तिम्रो मप्रति
सके यही एक मात्र
नियन्त्रण छ मेरो तिमीमाथि ।

जबसम्म तिमीभित्रको जनावर मर्दैन
र मेरो स्वाभिमान बिउँझँदैन
यो व्यवहार यसरी नै हुनेछ
यो व्यापार यसरी नै चल्नेछ ।