अनिदा रातहरुका कथाहरु बोकेर
निरसिलो दिनमा हाई काढ्दै
चुरेहरुको सिरानी अलिकति मुनि
फुस्रे टाउको अड्याएर,
बजारभरिको शरिर लमतन्न तन्काएर
रेल्वे लाइन र तीनकुने-खुट्टाहरु फैलाएर
र बिजयपूर-सिरक छेउमा राखेर
चारकोशे झाडीको पलंगमाथि
ननिदाए पनि निदाएको भान गर्दै पल्टिरहेछ — धरान
झलमल्ल घाम लागेर पनि
ओझेलमा परेको छ — धरान
ओझेलमा परेर पनि
निकै उज्यालो छ — धरान
कहिले उफ्रिंदा उफ्रिंदा थ्याच्च.... थेचारिन्छ — धरान
त कहिले थेचारिंदा थेचारिंदा वाक्क भएर उफ्रिन्छ — धरान
अनि कहिले सर्दु र सेउतीको बगरमा
बिश्वासहरु रोपेर विकाशहरु उम्रन्छ कि भनि
बकुल्लाझैं तपस्या बस्छ — धरान
तर माछाको सट्टा भ्यागुता पर्दा
हिस्स...... पर्दै लाजको झिनो हाँसो हास्छ — धरान
साँच्चै !
झलमल्ल घाम लागेर पनि
ओझेलमा परेको छ — धरान
ओझेलमा परेर पनि
निकै उज्यालो छ — धरान
बास्ना लिन सक्नु पर्दछ
भेडेटारमा गुराँस फुल्दा धरान बजार नै मग्मगाउने गर्दछ
सुन्न सक्नु पर्दछ
बुढासुब्बा, दन्तकालीमा घण्टी बज्दा मनभित्र पनि कहीं ट्वाङ्ग.... बज्दछ
अनुभव गर्न जान्नु पर्दछ,
साँगुरीमा बतास चल्दा भानुचौकमा पनि शीतल हुन्छ
हेर्न जान्नु पर्दछ
हेर्न नहुने मात्रै होइन हेर्न हुने कुराहरु पनि सल्बलाउँदछन्, यहाँका चौकहरुमा
स्वीकार्ने हिम्मत राख्नु पर्दछ
धरान मात्रै धरान थिएन
कति कुराहरुमा बरदान पनि थियो
धरान मात्रै धरान छैन
कतिपय कुराहरुमा बरदान पनि छ
धरान मात्रै धरान हुने छैन
धेरै कुराहरुमा बरदान पनि हुनेछ
साँच्चै नै !
झलमल्ल घाम लागेर पनि
ओझेलमा परेको छ — धरान
ओझेलमा परेर पनि
निकै उज्यालो छ — धरान
आँखामा कालो चश्मा लगाएर
धरानलाई रातहरुको बस्ती देख्नेहरु
विसंगतिहरु मनभरि च्यापेर
धरानलाई विकृत शहर भन्नेहरु
र, तिनीहरुको संकीर्ण सोचाई सोचेर
र, तिनीहरुको दरीद्र मानसिकता देखेर
मेरो धरान !
रातौंदिन सप्तकोशी आँशु बगाउँदछ !!
रातौंदिन सप्तकोशी आँशु बगाउँदछ !!