सम्झिरहन्छु,
बाल्यकालको उमङ्गमा
मेरो जीवनको धून
सधैँसधैँ नयाँ बिहानी भएर बज्थ्यो
मन्दिरको घण्टासँगै
म चराको गान सुन्थेँ-रमाउँथे
मालश्रीको लय उनेर
म आफ्नो फाटेको मन सिलाउँथे
अभावग्रस्त मेरो बालचञ्चलतामा
हरबिहान
एउटा आरोहणको शुभारम्भ हुन्थ्यो
मङ्गलधुन बज्ने गर्थ्यो
निस्तब्ध भएको छु म हिजोआज
मेरा छोरा-छोरीको रमाइलो बाल-संसारमा
संकटपूर्ण धुनको पीडा बजिरहन्छ
ती धुनहरू
सुन्छु
मेरो दाहिने आँखा र
डुब्दै गरेको जहाजका पालहरूजस्तै
रगतको महासागरमा फर्फराइरहन्छन्
मेरा स्नेहिल स्पर्शहरू
किन यति चोटिला भएर फर्किरहन्छन् मतिरै
किन बज्छन् यति नमिठोसँग यी धुनहरू
किन म देख्छु
छन्छनाउने चुराका लयबद्ध ध्वनिहरूमा
जीवनकै सर्वाधिक उजाड वसन्त ?
हिजोआज
डिको नभएका हरफहरूझैँ
बिथोलिइरहेछन् मेरा पङ्तिहरू
के यो युगमा
म सुन्न पाउँदिन फेरि
मेरो बाल्यकालजस्तै सुन्दर
मेरो जीवनको धुन एकचोटि ?