म पुगेको बाटोछेवैमा
चञ्चल कति हरिया धानका बालाहरू
बतास चल्नेबित्तिकै त्यसै–त्यसै
खितितिती हाँसेर
घचेट्दै एकले अर्कालाई चलिरहने
जोबनले परिपूर्ण
भक्खरका तरुनीहरू ।
पाँचसात दिनपछि होला
लाजले झुके–झुकेका तिनै धानका बालाहरू
स्वर्णफूलले सिउरेर कसैको दैलोमा
भित्र्याउन उभिएकी नयाँ दुलहीजस्तै
केही समयपछि—
ती धानका बालाहरू झन् कति निहुरिई बसेका
फलफूलले भरिएका रूखहरूजस्तै
भारी जीउकी दुलहीझैँ
आज फेरि देखेँ तिनै धानका बालाहरू
सुकेको पराल मात्रै भई
खेतमा पछारिएका ।
क्यै छिनअघि मात्रै सुत्केरी व्यथाबाट मुक्त भएकी
स्वास्नीमान्छेझैँ।
रक्तहीन अनुहारकी
कमलपित्तको रोगले थला परेकी रोगीझैँ।