Last modified on 5 मई 2017, at 15:03

नदीकिनाराका सपना / वंशी श्रेष्ठ

इन्द्रावती र सुनकोशी–किनारमा खेल्दै,
किताबहरू ठूलो ढुङ्गामाथि राखेर—
स–साना ढुङ्गाहरू नदीमा फ्याँक्दै गरेका
अनि कागतका नाउहरू पानीमा बगाउँदै
यी स–साना बालबालिकाहरू
के–कस्ता सपना हुर्काइरहेछन् होला ।

तर यसो हेर्दाः
नाङ्गै खुट्टा र अर्धनग्न यी निर्दोषहरू
अहिले आफ्नै परीलोकमा खेल्दै छन् होला;
नक्षत्रयुद्ध–नीति र शान्तिक्षेत्रका कुरा छाडौँ;
भरे–भोलि के सिक्ने भनी चिन्ता नभएका यिनलाई
महान् आकाङ्क्षाका कल्पना त
अम्बरजस्तो विशाल,
अनि अवनीजस्तो कल्याणकारी लाग्लान्।

नदी र जङ्गलका किनारैकिनार त
ध्रुव र बुद्ध पनि हुर्केका थिए,
नदी तथा वनपाखाका किनारवरपर नै त
 
सन्त ददामी र जिजस हुर्केका थिए,
अशोकको समर्पण–चिह्रन— लुम्बिनी,
अलेकज्यान्डरको समर्पण–चिह्रन— ददामी;
तर मानिसहरू इतिहास पढ्दा
अशोक र अलेकज्यान्डरका समर्पणहरू बिर्सन्छन्,
 हो, यी दुवैलेसमर्पण गरेका थिए;
आ–आफ्ना महत्वाकाङ्क्षाहरू पूर्ति गर्न नसकेर ।
महानताका कल्पनाहरू साकार गर्न नसकेर ।

नदीको त बग्ने धर्म हो— बगिरहन्छ,
 त्यसरी नै सूर्य उज्यालो दिइरहन्छ,
अनि पृथ्वी, दिनरात बनाई उर्वरा भइरहन्छिन्
केवल कल्याणका लागि,
उत्सर्ग र समर्पणमा को रित्तिएका छन् र ?
तर घात गर्ने तरबारका अस्तित्व हराउँछन्;
अर्धनग्न यी निर्दोषहरूका सपनालाई आघात गर्दा,
कति स्वतन्त्रताले उल्लासमा खेल्दै छन्।
नदीकिनारामा तथा जङ्गलका कान्लाछेउ
यी स–साना बालबालिकाहरू ।

यसरी नै सुदिमा गावा र तेम्जकिनारमा
मेरा पाइलाहरू पर्दा—
त्यहाँ पनि खेलिरहेको देखेँ:
यस्तै स–साना बालबालिकाहरू
आ–आफ्ना सपनाका चित्रहरू बुनेर ।

हामी त हुर्किसकेका छौँ—
तर पनि हामीले बाटो बिराएका पनि हुन सक्छौ“;
केही दर्शन राम्ररी बनाएका पनि हुन सक्छौ“;
तसर्थ नदीमा स–साना ढुङ्गाहरू फ्याँक्दै खेल्नेहरू,
अनि कागतका नाउहरू पानीमा बगाउँदै खेल्नेहरूका—
सपना र मुस्कानहरूलाई फक्रन दिऊँ।
हामीले पनि त खेलेका थियौँ, यसरी नै—
नदीकिनार र जङ्गलका कान्लाहरूमा ।