Last modified on 16 मार्च 2017, at 08:51

नयाँ वर्ष / रमेश क्षितिज


बर्सेनि आउँछन् प्रमुख अतिथिजस्ता नयाँ वर्षहरु
र विमोचन गरेर जान्छन्
रंगीन सपनाका नवीनतम संग्रहहरु

समारोह विसर्जनपश्चात सबै आआफ्नो घर फर्किसकेको
सुनसान स्थलजस्तो जिन्दगीले पल्टाउँछ निलो डायरी
र पढ्न थाल्छ विगतको दैनिकी
वा एक टुक्रा आत्मकथा

कोही गइसकेको छ यहाँबाट
मात्र सम्झनाको एउटा धमिलो आकृति
बसेको छ उसले सुस्ताएको चौतारीमा
अल्झेको छ उसकै मधुर स्मृति - उसले हिँडेको गोरेटो
र स्पर्श गरेका यी धुपीसल्लाका बोटहरुमा

थाह छैन अघिल्लो मोडमा भेटिने नवागन्तुक
हाँस्छ कि हाँस्दैन अलिकति ओठ खुम्च्याएर
र आँखाका पुतली चम्किला बनाएर
अथवा सुम्सुम्याएर मायाले कपालमा घरिघरि
भन्छ भन्दैन - यात्रा हो जिन्दगी यी घुम्तीहरुमा

छतमा सुकाएका कपडाहरु उडाउँदै दौडिरहेछ बतास
यता एकान्त कोठामा बसेर
पुरा गर्न खोजिरहेछु म गीतका बाँकी अन्तराहरु

र, समय – छिमेकमा भर्खरै आएकी युवती भएर
झ्यालबाट सुनिरहेछ मेरो अस्पष्ट लय ।