Last modified on 15 अप्रैल 2020, at 15:22

नरोपौँ न फूल / गीता त्रिपाठी

नरोपौँ न फूल
मैले कत्ति भनेँ तिमीलाई
सुटुक्क कानमा भनेँ
साउती गरेँ
तिमीले माली हुने रहर पालिराख्यौ
सुन्दै सुनेनौ मेरा कुरा ।
 
थाहा छ तिमीलाई ?
युवकहरू फूलसँग प्रेम गर्दैनन्,
हिजो-आज
युद्ध गर्छन्
आक्रोस पोख्छन्
बिचरा फूलहरू !

दोष देख्छन् युवकहरू
फूलको सौन्दर्यमा,
बास्नामा,
कोमलतामा,
कुमारित्वमा,
अतृप्त आगो बोकेर
लुसुक्क पस्छन् फूलको बस्तीमा

जलाउँछन्, फूलको अस्तित्व
मालीको सपना ।
 
त्यसैले,
आज सुटुक्क तिमीलाई मात्र होइन,
चिच्याई-चिच्याई भन्न मन लागिरहेछ
यो कुरा,
सबैसँग
नरोपौँ न फूल,
आज मान्छेहहरू फूलसँग प्रेम गर्दैनन्,
आक्रोस पोख्छन्
युद्ध गर्छन् र
लास फुलाउँछन्- मरुभूमि बगैँचामा