उठाउनु छ कलम
र कोर्नु छ कामेका ओँलाले अक्षरहरू
हराउनेछन् – एक्कासि सयौँ प्रसंगहरू
दिनलाई जवाफ हुनेछैन,
लेख्नलाई शब्द हुनेछैन
टक्टक्याएको बोराजस्तो खालीखाली हुनु छ,
पाकेट मारिएको तीर्थयात्रीको
रित्तो–रित्तो खल्ती हुनु छ,
बारका टेबलमा पोखिएको रंगीन साँझभन्दा पर
कोठामा टाँगिएको भाँचिएको फ्रेम
र त्यसभित्र रङ झरेको मैलो तस्बिर
हेर्नु छ थकित आँखाले
हेर्दाहेर्दै बस ! त्यही हुँदै जानु छ,
कागजमाथि अत्याचार गरिरहेझैं लाग्नु छ
जमिन्दारले उठाएको निरीह थारूको बासजस्तो
उदास हुनु छ
नलेख्नुपर्नेछ – दिनहरूका कोइलाखानीमा
उठाइरहेको छु अहंका गह्रौँ बोझहरू
नलेख्नुपर्नेछ – पहिरोमा परेका घाइते सपना
सस्तोमा खर्चेको आयु,
निसास्सिएको जिन्दगी र समयका अक्टोपस हातहरू
टुक्राटुक्रा ऐनामा असंख्य आकृतिजस्तो
टुक्रिँदै अपूर्ण हुनु रहेछ
सहर पसेर सहर बन्नु रहेछ
निखारेर सम्पूर्ण संवेदना
बिर्सिनु छ धेरै चिज
र आफैंलाई बिर्सिनु छ आज !
हुस्सु खस्छ पाखाभरि
शिताम्मे बनाएर जान्छ आँखीभौँ र परेलाहरू !
नबिर्सिनु छ
ती चिरा–चिरा परेका कुर्कुच्चाहरू
छाला उप्केका कुमहरू
र प्रतीक्षारत धमिला आँखाहरू
सोध्नु छ – बाबु भएपछि मात्रै
किन बुझिन्छ सन्तानको माया ?
बुढो बाबुको पसिनाले रंगाएको निलो चित्र
अहो ! थप्नु छ यहाँ उज्यालो
र कोर्नु छ जिन्दगीका अपूर्व रङहरू ।