Last modified on 16 मार्च 2017, at 08:36

नसम्झिनेलाई ! / रमेश क्षितिज


सम्पूर्ण सहर आतिसबाजी गरेर
भव्य उत्सव मनाइरहेको समयमा
कतै एकान्त कुनामा
आफू जन्मेको गाउँ सम्झँदै
नियास्रो मानिरहेकी थरुनी केटी देखेर
सम्झिनू – मेरो गीतको कुनै पंक्ति सम्झिनू

धेरै, माइती हिँडेका मैतालु, युगल प्रेमीहरू
र युद्ध लड्न हिँडेका सैनिकहरूलाई पारि तारेर
साँझको घाममा चम्किरहेको पानीमा
छप्लक्–छप्लक् हिर्काउँदै
निरुद्धेश्य डुंगा खियाइरहेको माझी देखेर
सम्झिनू यसलाई मैले जीवन भनेको छु
त्यो सम्झिनू,
 
थाहा छ यसपालि पनि वसन्त
हरिया रूखहरूमा मात्रै आएर फर्किनेछ !

दोबाटोमा ठिंग उभिएको
तैपनि नआउने त्यसलाई
र हाँगाका कुममा
कुनै रंगीचंगी पक्षीको स्पर्शलाई पर्खिरहेको
खबरहरूसँग बेखबर
नांगो–नांगो सुकिसकेको वृक्ष देखेर म भनेर सम्झिनू

पेटका लागि जिन्दगी लुटाइरहेका
असंख्य गरिब र निमुखा हामी सम्झिनू !