Last modified on 1 दिसम्बर 2017, at 09:12

नाम चलेको मान्छे / राजेन्द्र थापा


तिमी मनपरी गर्नमा नाम चलेको मान्छे
खोटै भए ‘नि बजारमा दाम चलेको मान्छे

झुकी दर्शन नगरी नदेख्ने कोही हाम्लाई
छड्के आँखा तर्दा ‘नि तिम्रो, सलाम चलेको मान्छे

घर ठड्याउने ज्यामी झैँ, प्रवेश निषेध हाम्लाई
तिमी उद्घाटनको कैंची झैं, काम चलेको मान्छे

सीताको ‘नि बद्‍नामी भइरहने यो ठाउँमा
तिमी नाङ्गै हिंड्दा ‘नि खुलेआम चलेको मान्छे

जितेकाहरू भीडमा हराइरहेका बेला
चुनावमा हारे ‘नि तिमी धुम्धाम चलेको मान्छे ।