Last modified on 12 नवम्बर 2017, at 14:55

नाम सोध्दा थाहा छैन भन्छे / अशेष मल्ल


घाँसकोपहाड पिठ्यूँमा छ
घाम अस्ताउन लागेको छ
र उक्लिरहेकी छे उकालो
नाम सोध्दा ‘थाहा छैन’ भन्छे
परिचय हराएकी
आफैदेखि टाढा
बिनामूल्य जीवन बाँचेकी
को होली ऊ ?

पखेटा फडफडाएर
खोरबाट झिसमिसे झर्दा–नझर्दै
कुचो भएर आँगनभरि बिच्छिने
भर्खर बाह्र नाघेकी
दुलाहा खोज्दै बाबु बेँसी झरेको छ
उकालो चढिरहेकी छे ऊ
जङ्गलका काँडाहरूसँग खेल्दै
फुल्न बिर्सेकी
को होली ऊ ?

चुलो, जङ्गल, कुवा र गोठको स्कुलमा
कसौँडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै
जीवनको परीक्षामा हाम फालेर
सधैँअनुत्तीर्ण
आफैँलाई बिर्सेकी
थकित
विश्रामहीन यात्रामा हिँडेकी
नाम सोध्दा थाहा छैन भन्छे
को होली ऊ ?