भर्खरै मात्र मौनताबाट ब्युँझेकी छे
भर्खरै मात्र भ्रान्तिबाट उक्सेकी छे
हो ।
ऊ नारी थिई, हो, रहनेछे
यही भूमिका निभाउँदै आजपर्यन्त बाँचेकी छे
तर कसैको अनुग्रहले मुक्त भई
अस्तित्वको चट्टानबाट सम्बोधन गर्दै छे ।
जब ऊ छोरी थिई
परिवारको सुखसयलमा आह्रलादित भएर
आफूलाई चिन्ने प्रयास गरिन ।
जब ऊ पत्नी भई
पतिभन्दा अग्लो र पर केही दृष्टान्त भएन
पतिको चरणधूलि र मर्यादा बचाउन
कर्तव्य उसको शिखरभन्दा सानो थिएन ।
जब ऊ बुहारी भई
अपरिचितमाझ परिचय खोज्दै
तिनीहरूको जो हुकुममा कदाचित् पछि परिन ।
जब ऊ आमा भई
सिर्जनाको भार स्वयम्मा लादेर
पृथ्वीजत्रो फाँटिलो छातीमा
आफैलाई खोज्न भ्याइन ।
एउटै स्वास्नीमान्छे
भिन्दाभिन्दै भूमिका निर्वाह गर्दा
जोबन कहाँ अल्झियो, पोख्यो, बोध भएन
जीवन आफैमा कहाँ चुक्यो, थाहा पाइन
जीवन मिसिनझैँ धावा बोलिरह्रयो
प्रत्येक धावामा मिसिन भई
ऊ खर्चिरही ।
ऊ नारी थिई
केवल नारी नै रही ।
यै धरतीमा शाश्वत र उद्भासित साइनो लिएर
जब प्रकृति–पुरुषले उसको ललाटमा
मायाको चुम्बन भर्छ
हजार कोस दूरत्वमा पनि
जब उसको नाम उच्चारण हुन्छ
तब उसको अन्तःकरण झङ्कृत भई ब्युँझन्छ
नामको प्रत्येक उच्चारणमा
उसको ह्दयको स्पन्दन उत्साहित भई फुल्ने गर्छ
पुलकित भई
अनि चियाउँछे…
प्रकृतिजस्तो सुन्दर केही देख्दिन
प्रत्येक पदार्थ र वस्तुको आफ्नै लेबल देख्छे
प्रत्येक भोगाइ र पीडामा शकुन पाउँछे
हो । ऊ नारी नै हो।
ऊ कसैकी छोरी बन्न सक्छे,
ऊ कसैकी पत्नी बन्न सक्छे,
ऊ कसैकी बुहारी बन्न सक्छे,
ऊ कसैकी आमा बन्न सक्छे,
तर जब ऊ कसैकी प्रेमिका हुन्छे
ऊ मीरा बन्छे
नारी मीरा बन्छे ।