Last modified on 16 मार्च 2017, at 14:38

निःशस्त्र / मनप्रसाद सुब्बा


अहँ, थाहै थिएन
कि तिम्रो सामुन्ने म यस्तरी
नाङ्गिँदै पनि जानसक्छु

कुन्नि कति बेला हो
मेरा मान र शानहरू
एक-एक गर्दै फुकालेर
मैले तिम्रा खुट्टाका नङ्हरूमा
राखिसकेछु
स्वाभिमानको यौटा कर्णकवच थियो
त्यो पनि छातीबाट च्यातेर उप्काई
तिम्रो हत्केलामा मुस्कुराउँदै राखिदिइसकेको छु

अब म यति नि:शस्त्र छु
कि यो छातीमा तिम्रो कान्छी औंलीले घोंचे पुग्छ
म रगताम्य हुन्छु