Last modified on 21 अगस्त 2020, at 00:18

निशागान / डेलमिरा अगस्तिनी / सुमन पोखरेल

रात
बाहिरपट्टि
विछोडको लुगा लगाएर,
मेरो झ्यालको चौकोसमा बाँधिएर
सुस्केरा हाल्छ
बालकैमा विधवा भएकी एउटी अधबैँसे जसरी ।

मेरो कोठा...
उज्यालो र आगोको विष्मयकारी जादूले
सुनचाँदी र मोतीको बहुमूल्य गुफाझैँ भएको छ मेरो कोठा।
मिहीन दुबाहरू र तिनको सुन्दर सजावटले
विशाल र न्यानो भएको छ यो,
र यति बिघ्न मनमोहक छ,
कुनै मुटुभित्र बसेझैँ लाग्छ यहाँ मलाई।

जहाँ छ मेरो सेतो ओच्छयान, सेतो र ओसिलो
निश्छलताको फूलजस्तै।
वर्जित कर्मको छालजस्तै।

यो रातले अनिद्रा ल्याउँछ;
रातहरू काला छन्‌,
काला, जसले सूर्यको गुलाफलाई फक्राउने गर्छन्‌ ...
म यी काला र परिचित रातहरूमा निदाउने गर्दिनँ।

र म तिमीलाई माया गर्छु, ए हिउँद!
पिँधेको चूनको दैवी शरीरले
युगको भारलाई राजसी पोषाकले झैँ तान्ने तिमी
बूढो भइसकेझैँ लाग्छ मलाई,
मलाई तिमी विवेकशील भएका छौ भन्ने लाग्छ।

हिउँद, म तिमीलाई माया गर्छु
म वर्षा हुँ...
म नाङ्गिन्छु, तिमी हिउँले ढाकिन्छौ।
किन भने, तिमी यी सबै जान्दछौ
किन भने, म चाहिँ यी सबै कल्पना मात्र गर्ने गर्छु...

यसरी नै गर्छौँ एकआपसलाई माया हामी!...
मेरो सम्पूर्ण सेतो ओछ्यानमाथि,
पूरै सेतो र निश्छलताको फूल जस्तै ओसिलो ओछ्यानमाथि,
पापको छालजस्तै,
हिउँद, हिउँद, हिउँद,
हामी गुलाफ र सुनाखरीमा मिसिन्छौँ।