Last modified on 29 अप्रैल 2020, at 11:10

नेपाली साहित्य रित्तिँदैन / दैवज्ञराज न्यौपाने


मेरो चन्द्र र सूर्य हाँसेको धर्ती
हिमालयको काखमा दन्त्यकथाको होइन
सच्चा अस्तित्वको बोध छ,
दिनको सूर्य र रातको चन्द्रझैँ
यहाँ युगयुगको निर्माण गर्ने
हाँसोको खोज छ,
जुन हाँसोमा भानुभक्त हाँसे
मोतीराम हाँसे
लेखनाथ र देवकोटा हाँसे
उही हाँसोको लहर
गण्डकी, कोशी र कर्णालीको गीत सिद्धिँदैन,
आऊ, तिमी र म पनि एक फेरा हाँसौँ
यहाँ नेपाली साहित्य रित्तिँदैन।