एकै थरी जाति हामी एउटै पर्यो गाउँ
घर हाम्रो नेपाल हो नेपाली हो नाउँ ।
कोही आयौँ धेरै अघि कोही पछि आयौँ
जुन दिन यो धर्तीमाथि पाइला टेक्न पायौँ
त्यही माटो मुटु हाम्रो सम्झिदिन्छौं हामी
चासो हाम्रो यौटै थियो पार्नु सधैँ नामी ।
जाति धर्म लिङ्ग नीति सबैभन्दा माथि
शुद्ध हामी नेपाली हौँ नबिर्सने जाति
यौटालाई पीर पर्दा अर्को पनि रून्थ्यौँ
सँगै हाँस्थ्यौँ सँगै खेल्थ्यौँ सबैसँग हुन्थ्यौँ ।
त्यो बानीमा आज किन शङ्का सल्बलाउँछ ?
कतैबाट दुर्गन्धको हस्को उठी आउँछ
बेलैमाथि होसियारी गर्ने गरौँ राम्रो
वैरताले भलो हुन्न कतै पनि हाम्रो ।