Last modified on 3 मई 2020, at 12:04

न्यानो थियो घरबारी / गीता त्रिपाठी

न्यानो थियो घरबारी शीतल मेरो गाउँ
चौतारीले हम्किदिन्थ्यो रोक्दै ठाउँठाउँ
 
जुनेलीको उज्यालोमा फूल थिए साथी
हिँड्दा ठेस लाग्दैनथ्यो ढुङ्गा पनि जाती
मनले भन्छ आज पनि उतै फर्की जाऊँ
चौतारीले हम्किदिन्थ्यो रोक्दै ठाउँठाउँ
 
सुन्दैछु म हिजोआज भाका फेरियो रे
सिकारीको झम्टाभित्र गाउँ घेरियो रे
बूढाबूढी भन्दैछन् रे कहाँ शान्ति पाऊँ
चौतारीले हम्किदिन्थ्यो रोक्दै ठाउँठाउँ