Last modified on 11 जनवरी 2025, at 07:28

पछिल्लो ढुक / सानु शर्मा

भन त
कहाँ खोज्यौ ?

आँखामा, सिरानीमा,
निन्द्रामा वा सपनीमा
जहाँ जतासुकै खोजे पनि
मन छाम्न बिर्सियौ शायद तिमीले ।

जहाँ तिमी छौ,
तिमीले खोजेको भए
म पनि त्यहीँ छु !

शाश्वत मान्छे म
मायाको अनादि नियममा बाँधिएकी छु
तिमीले प्रकटरूपमा नसम्झिए पनि
टाँसिइरहेकी छु तिम्रो चेतनामा
लुट्पुटिइरहेकी छु तिम्रो अस्तिस्वमा।

के, तिमीले ध्यान दिएर सुन्यौ
आफ्नो मुटुको ढुक...ढुक
ढुकढुक, ढुकढुक ?

तिम्रो धड्कनमा
यो जो दोहोरो धून छ नि,
हो, त्यो धूनमा धड्‌किने पछिल्लो ढुक
म नै हुइनँ र ?

००००