परदेशमा छु ।
हिमाल देख्छु÷हेर्छु
घाम झुल्कँदै गरेको हेर्छु
र सम्झन्छु गाउँ
हिउँ फुलेको कपाल सम्झन्छु
घाम झुलेको लोचन सम्झन्छु
साँच्चि नै सुहाउँछ
मेरो आमाको
हिउँ फुलेको सिउँदोमा सिन्दुर
यो सुन्दर बिहानी
हिमालमाथि झुल्कँदै गरेको रातो घाम ।
परदेश–
थुप्रैहरूबीच एकान्त
अनेकहरूमाझ एक्लो,
सम्झन्छु गाउँ
गैरीखेत परेको अनुहार सम्झन्छु
धान झुलेको हाँसो सम्झन्छु
साँच्चि नै सुन्दर
मेरी आमाको
गैरीखेत परेको अनुहारमा हाँसो
यो सुन्दर बिहानी
घामको पहिलो किरण माटोमा परेझैँ ।
झ्याल बन्द गर्छु
र पर्दा पनि ।
सम्झन्छु यस परदेशमा
हिँड्नुअघि
आफ्नै मुटु रित्तिने गरी
आमाले दिएका– दीर्घायुहरू
आशीर्वचनहरू ।
प्रार्थना गर्छु–
ए हिमाल !
ए घाम !
ए आमा !
जहिल्यै म देख्न पाऊँ जीवन यो, तिम्रो आँखामा
जहिल्यै म बाँच्न पाऊँ देश यो, तिम्रो काखमा ।