आफनो शहर, आफ्नो घर
कति याद आउँदो होला
हरेकपल्ट लाग्ने कुकरको सिटीले
आमाको भान्सा कोठा पुरयाउदो होला
छिमेकमा बज्ने साँझको पुजास्त्रोत्र र घण्टीले
पूजा गरिवस्ने हजूरआमानेर पुरयाउँदो होला
प्रसाद लिन अघि सर्ने गरेको हात हेर्दो होला
परदेशी !
हर घडी,यो अनंकन्टार कसरी झेल्दो होला !
प्रियाको झझल्को
धान खेतमा बहेको हावाले बनाएको हरीयो नदीमा
कति पौडदो होला
उनीलाइ छोएर हुइकिने वताससंगै
कतिपल्ट मायालु आभाष
कोशौ यात्रा गरेर आयो होला
परदेशी !
हर दिन, यो विरानोमा कति आफन्त खोज्दो होला !
कहिले लामो, कहिले छोटो विदामा
घरजादाँ एक्लोपनको कथा भावुक भएर
सवैलाइ सुनाउँदो होला
केही खुशी, केही विरहका पल बाड्दो होला
सघैं घर फिर्ने दिन गन्दो होला
परदेशी !
यो विरानोमा कति आफन्त संझदो होला !