परदेशी मायालु !
तिमी गएपछि
जीवन सङ्गीतका अदभूत आयाम
बाध्ययन्त्रको विस्तारण
रागहरुसँग बहेको रोमानी रहर
यो दिलमा बज्दैन होला
तिम्रो आँखा भएर उठ्ने छालले
मलाइ भिजाउँदैन होला
रेशमी स्पर्श र अनुपम सुगन्धबाट टाढिन्छु होला
बुझेर पनि नबुझेझैं हुन्छु वेला वेला !
म सँगै आँगनमा बस भन्न सक्दिनँ
शिखर पुग्ने, गहिराइ जान्ने बेला यो
तिमीसँगै सहर जान सक्दिनँ
सय बोट सयपत्री रोपेकी छु यसपटक
जर्सी गाई छन् गोठमा
केही उन्नत वाख्रा, कुखुरा छन् खोरमा ।
प्रतिभावान मायालु !
पदक पहिरिएर
मन पग्लिए, चाँडै आउनु
यो छाती तिम्रो अँगालोमा
बाँधिन आतुर हुनेछ
मन नलागे नआउनु, उतै रमाउनु
बिलकुल दुःखी हुने छैन ।
मीठा अनुभूति अङ्कित छन्
हरियो र हुस्सुमा हामी घुमेको
जीवन र जगतका कुरा गरेको
सुन्दरता र सम्पूर्णताको अर्थ वुझेको
मायालु पलका साक्षी छन्
सँगै घुमेका देउराली
डाँडा माथिको आत्मा घर
उकाली ओराली गरेका वाटा।
हरदिन उदाउने सूर्यमा
हाम्रा याद बसेका छन्
तिमी गएपछि ,
म टोलाएर बस्ने छैन्
गाँउको ओत ,गरिखाने अठोट
सयपत्रीका सुनौला बोट
दुध दिने गाई र गोठ
तिमीले चुमेका आफ्नै ओठ
सवै मसँग भलाकुसारी गर्नेछन्।
परदेशी मायालू !
फर्किएर आउनै पर्छ भन्दिनँ
प्रशंसकको भीडबाट
फुर्सद मिले नरोकिनु, झट्टै आउनु
यो सङ्गीतमय यौवन तिम्रै हो
मन उतै रमाए , कुनै करकाप छैन ।
यात्रु मायालू !
पर्खिएर रुनुमा म विश्वास गर्दिनँ
सिफनको सारी अथवा उपहारको भारी
कुनै भौतिकता आस गर्दिनँ
आयौ भने म तिम्रै
आएनौ भने म मेरै
सोध्ने जतिलाई भनी दिन्छु
मेरो प्रेमी परदेशमा छ ।
बस्तीभरि कामको खात
घाम छउन्जेल मेलापात
रातपरेपछि जुनसँग केहीबेर बात
तिम्रो अप्ठ्यारो यात्रा , उच्च पहिचान
छ मलाई ज्ञात
सहजै सहन सक्छु कुनै पनि वज्रपात !
गीतसङ्गीत बुझ्छु
पढ्न, लेख्न जानेकी, हिम्मतिली छु
फर्केर आए , यो जीवनको दरिलो तार
जो बज्नेछ सिर्फ तिम्रो झन्कार
माया बहिरहे
निश्चय आउनु ! मिलेछ भने वोलाउनु
थान्को मुन्को गरेर आउला !
झूठा सपना वा सन्देश कहिल्यै नपठाउनु
आश्वासनका गहन गीत नगाउनू
प्रिय ! मन गर्जिए, वर्षा लिएर आउनु
यो जीवन बीज तिम्रै हो
सम्भावित हरियाली हाम्रो हुनेछ
नलागे, उतै खुशीखुशी रमाउनु
बिलाप मेरो शव्दकोशमा छैन
म त एक्काइसौ शताब्दीकी मायालु !