बन्धनबाट चियाइरहेको हात
कसको होला,
जो आफै हतियारजस्तो धारिलो भएर पनि
पर्खिरहेछ प्रहार समयको!
माटोले कहिले भन्यो होला,
बिरुवालाई- 'तिमी नउम्र',
जमिनले कहिले बोल्यो होला-
'बीऊहरू नटुसाऊ !'
प्रतिबन्धहरूको लगाम समाएन मौसमले
रोमाञ्चित भइरहेको असारले
रोपिरह्यो धानका गीतहरू
जिन्दगीका चुल्हाहरू सल्किरहे निरन्तर।
तर पनि
निर्दयी बन्धनहरूले
छेकिदिन्छन् सृष्टिका स्वच्छन्द गतिहरूलाई
र पराधीन हुन पुग्छन् अनगन्ती सपनाहरू!
हुन्थ्यो भने बन्धनमा जीवनको अन्वेषण
आकाश खोज्दै उड्न निस्कने थिएनन्
चराहरू !